हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी–इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गरेका छन्।
हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय भ्रमणअघि एडन अलेक्ज्याण्डरको रिहाइ गरिने र अमेरिकी पक्षसँग युद्धविरामका विषयमा प्रत्यक्ष वार्ता चलिरहेको जानकारी गराएको थियो।
हमासको सैन्य शाखा इज्जेद्दिन अल–कस्साम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले सोमबार एक सन्देशमार्फत् अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्ज्याण्डरलाई रिहा गर्ने निर्णयमा पुगेको बताए।
इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायलले कुनै युद्धविराम वा कैदीहरूको रिहाइमा सहमति जनाएको होइन, केवल एडन अलेक्ज्याण्डरलाई सुरक्षितरूपमा रिहा गर्नका लागि आवश्यक मानविय मार्ग उपलब्ध गराएको बताएका छन्।
एक इजरायली अधिकारीका अनुसार, एडन अलेक्ज्याण्डरको स्वागतका लागि गाजाको दक्षिणी सिमानास्थित रे इम क्षेत्रको प्रारम्भिक केन्द्रमा विशेष सैन्य टोली तैनाथ गरिएको छ।
हमासले सो बन्धकको रिहाइलाई युद्धविराम र मानवीय सहायता पुनः सुचारु गर्ने पहलसँग जोडिएको सकारात्मक संकेतका रूपमा लिएको छ। हमास निकट स्रोतले इजरायलले सोमबार बिहान ९ः३० बजेबाट आफ्नो हवाई गस्ती, ड्रोन गतिविधि र सैन्य कारबाही स्थगित गरेको जानकारी दिएको छ।
स्थानीय नागरिकहरूका अनुसार, यो अस्थायी शान्तिले गाजा क्षेत्रमा केही राहत प्रदान गरेको छ। गाजाको दक्षिणी सहर खान युनिसमा विस्थापित भएकी ३४ वर्षीया सोमाया अबु अल–कासले थप केही समयअघि यहाँ शान्ति महसुस भयो, कुनै बमबारी भएन, विमानको आवाज पनि थिएन, जुन गाजाका लागि निकै दुर्लभ अवस्था भएको बताइन्।