२२ बैशाख २०८२ , सोमबार

भाषा संरक्षणमा जुट्दै चितवनका गुरुङ समुदाय

News
२० बैशाख, काठमाण्डौँ ।

विभिन्न जिल्लाबाट चितवनमा बसाइसराइँ गरेका गुरुङ समुदायहरू आफ्नो भाषा संरक्षणमा जुटेका छन्। बसाइसराइँसँगै भाषा लोप हुने अवस्थामा पुगेपछि उनीहरू भाषा संरक्षणका लागि सक्रिय भएका हुन्।

भरतपुर महानगरपालिका–११ मा रहेको गोरखाली तमू समाजले भाषा संरक्षणका लागि गुरुङ भाषाको कक्षा सञ्चालन गरिरहेको छ। समाजका अध्यक्ष नेत्रबहादुर गुरूङका अनुसार बसाइसराइँसँगै भाषा बिर्सने जोखिम बढ्दै गएपछि संरक्षण गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गरिएको हो। अहिलेको पुस्ताले पनि भाषा नजानेमा नयाँ पुस्तालाई झनै समस्या हुने भएकाले भाषा नजान्नेहरूका लागि कक्षा सञ्चालन गरिएको उनले बताए। विसं २०६२ मा स्थापना भएको समाजले गुरूङ जातिको भाषा संरक्षण र सम्वर्द्वनलाई केन्द्रमा राखेर काम गर्दै आएको छ।

चितवनमा गुरुङ जातिको बसोबास बाक्लिँदै गएको छ। त्यसमध्ये गोरखाली तमू समाजमा मात्रै करिब १०० घरधुरी आबद्ध छन्। समाजभित्रै कतिपय गुरुङ भाषाबारे अनविज्ञ हुँदा जान्नेबाट नजान्नेलाई भाषाको ज्ञान बढाउनका लागि औपचारिक कक्षा नै सञ्चालन गरिएको अध्यक्ष गुरूङले बताए।

गोरखा, धादिङ, तनहुँ, लमजुङलगायतका जिल्लामा जन्मिएर चितवन आएका गुरुङहरूले यो कक्षामा भाषा सिकिरहेका छन्। गोरखाली तमू समाज मात्र नभई चितवनमा रहेका अन्य गुरुङ जातिसँग सम्बन्धित विभिन्न संस्थाहरू पनि भाषा संरक्षणका लागि जुटेका छन्। यसअघि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले दुईहप्ते गुरुङ भाषा कक्षा सञ्चालन गरेको थियो।

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) चितवनका अध्यक्षसमेत रहेका भाषा कक्षाका प्रशिक्षक तुलमान गुरूङका अनुसार चितवनमा विभिन्न जिल्लाबाट बसाइसराइँ आउने क्रम बढ्दो छ। तर बसाइ सरेर आएसँगै आफ्नो भाषा भने बिर्सदै गएका छन्। विभिन्न समयमा हुने भाषा कक्षाले युवा पुस्तामा भाषा पुस्तान्तरण गर्नमा सहयोग पुग्ने उनको विश्वास छ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कूल जनसङ्ख्या ४९ हजार आठ सय २७ छ। तर कूल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन नभएको गुरूङले बताए।