खाडी मुलुकहरूमा गर्मीका कारण आप्रवासी कामदारहरू जोखिममा रहेको ह्युमन राइट्स वाचले जनाएको छ। उक्त संस्थाले गर्मीमा काम गर्ने कामदारहरूलाई बचाउन देशहरूलाई आग्रह गरेको छ।
पृथ्वीको सबैभन्दा तातो ठाउँहरूमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार र कुवेतमा आप्रवासीहरू धेरै छन्। यहाँ गर्मीमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्छ।
एचआरडब्लुका माइकल पेजले भनेका छन्, “गर्मीका कारण लाखौं आप्रवासी कामदारहरूको स्वास्थ्य जोखिममा छ। हरेक गर्मीमा यो समस्या देखिन्छ।"
उनले भने, “खाडी मुलुकहरूले कामदारको सुरक्षामा ध्यान दिएका छैनन्। यसले आप्रवासी कामदारहरूलाई धेरै असर गरेको छ। गर्मीका कारण धेरैको मृगौला फेल हुने र अन्य रोगहरू लाग्ने गरेका छन्।"
धनी खाडी मुलुकहरू निर्माण क्षेत्रमा काम गर्ने आप्रवासी कामदारहरूमा धेरै निर्भर छन्। त्यहाँ धेरै काम गर्नेहरू नेपाल, भारत, पाकिस्तानलगायत एसियाली मुलुकका छन्।
गत महिना संयुक्त अरब इमिरेट्स (युएई) ले लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१.६ डिग्री सेल्सियस मापन गरेको थियो।
कामदारहरूको सुरक्षाका लागि राज्यहरूले गर्मीमा काम गर्न प्रतिबन्ध लगाएका छन्। तर, ह्युमन राइट्स वाचले भनेको छ, “गर्मी आजभोलि पहिलेभन्दा धेरै आउन थालेको छ। यसले कामदारको स्वास्थ्यमा नराम्रो असर पर्छ।”
न्युयोर्कस्थित अधिकारवादी समूहले कुवेतका एक इलेक्ट्रिसियनसँग लिएको अन्तर्वार्तामा गर्मीको महिनामा काम गर्दा ‘चक्कर आउने, बान्ता हुने, टाउको दुख्ने र आँखा धमिलो हुने’ र ‘गर्मीका कारण धेरै मानिस ढल्ने’ महसुस हुने बताएका छन्।
एचआरडब्ल्युले अधिकारीहरूलाई गर्मी बढेको बेला काम रोक्न र कामदारहरूको सुरक्षाका लागि उपायहरू अपनाउन आग्रह गरेको छ।
वैज्ञानिकहरूका अनुसार गर्मी धेरै बढ्नुको कारण विश्वको तापक्रम बढ्नु हो। विगत तीन दशकमा गर्मी हुने दिनको सङ्ख्या धेरै बढेको छ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२४ को एक प्रतिवेदनअनुसार खाडीका आप्रवासी कामदारहरूले विश्वमा सबैभन्दा बढी गर्मीको सामना गर्नुपरेको छ।