५ जेष्ठ २०८२ , सोमबार

पीडितलाई तत्काल राहत दिने सरकारको निर्णय, घटना अध्ययनका लागि टोली गठन

News
५ जेष्ठ, काठमाण्डौँ ।

हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गरिने भएको छ। गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्ययन टोली गठन गर्ने निर्णय भएको जानकारी दिए। हिमताल विस्फोट भएको भनिए पनि हिमताल नै विस्फोट भएको हो या हैन भन्ने यकिन नभएको र भिडियो, फोटो हेर्दा हिउँ पग्लिएर जमिन भित्रभित्रैबाट पानी बगेको हुन सक्ने अनुमान रहेको उनले बताए। तर के भएको हो भन्ने विस्तृत अध्ययन गरिने निर्णय भएको छ। यस्तै अन्य हिमाली क्षेत्र पनि जोखिममा रहेको र जोखिममा भएका क्षेत्रको पहिचान गर्दै जोखिम मूल्याङ्कन गर्ने निर्णय भएको उनले जानकारी दिए।

जलवायुविद् मञ्जित ढकालले हालको अवस्था हेर्दा हिमताल फुट्ने खतरा बढिरहेकाले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्वसुचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिएका छन्।