सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका बारेमा राम्रा पक्ष समेटिएकाले अब तिनको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार केसीले नीति तथा कार्यक्रममा समेटिएका बुँदाका आधारमा बजेट आउनुपर्ने र कार्यान्वयनमा जानुपर्ने धारणा राखे। उनले पर्यटन, जलस्रोत, कृषि आदि क्षेत्र सबैमा सम्भावना रहेको भन्दै आफ्ना स्रोतलाई बेवास्ता गरेकाले अब बजेट निर्माणमा युवाहरुलाई लक्षित कार्यक्रम ल्याउन जरूरी रहेको बताए।
सांसद शोभा ज्ञवालीले तीनै तहका सरकारको योजनामा दोहोरोपन आउन नदिन र समन्वयसहितको बजेट ल्याउन आग्रह गरिन्। नीति तथा कार्यक्रमअनुसार बजेट आए विकास निर्माणको काम गर्न सकिने भन्दै उनले यसले सबै क्षेत्र समेटेको बताइन्।