१५ जेष्ठ २०८२ , बिहीबार

सीप सिकेर आत्मनिर्भर बन्दै झापाकी गोमा, पाँच महिलालाई रोजगारी

News
१३ जेष्ठ, काठमाण्डौँ ।

 “जब महिलाले कुनै सीप सिक्छिन्, उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,” गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण हुन् ।

झापाको दमक नगरपालिका–२ हिमालीटोलस्थित गरिमा सिलाइकटाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी उनले आफूसँगै थप पाँच जना महिलालाई रोजगारी दिएकी छन् । सामान्यतया महिलाले लगाउने सबै किसिमका कपडा सिलाइ हुने उक्त केन्द्रमा विद्यालयका झोला, पर्सलगायत सामान उत्पादन हुने गर्छ । दमक बजार, इलाम, पाँचथरलगायत स्थानमा ती सामग्रीको उच्च माग रहेको गोमा बताउँछिन् ।

आफ्नै घरमा सटर निकालेर उद्यम गरेकी गोमाले ढाकाका उत्पादन रु ५० देखि एक हजार ५०० सम्ममा बिक्री गर्दै आएकी छन् । बजारको माग उच्च रहेकाले कहिले काहीँ माग नै स्थगन गर्नुपरेको गोमा बताउँछिन् । सिलाइसम्बन्धी सीप सिकेपछि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरसमेतमा यो उद्यम गर्न सकिने भएकाले धेरै जसो महिला यो उद्दममा लागिरहेको उनी बताउँछिन् । जसबाट खर्च कटाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म बचत हुने गरेको छ,” उनले भनिन् ।

झण्डै १० वर्ष पहिले इलाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सिलाइसम्बन्धी आधारभूत तालिम लिएकी गोमाले इलाममै चिनजानकै सिलाइ पसलमा काम गरी अनुभव सङ्गालिन् । काम गर्दै जाँदा घरेलुबाट उद्यमशीलतासम्बन्धी तालिम लिएपछि आफैँ उद्यम गर्नुपर्छ भन्ने उत्पे्ररणा जाग्यो पाँच हजारमा पुरानो सिलाइ मेसिन खरिद गरी व्यवसाय सुरू गरिन् । छरछिमेकका महिला दिदीबहिनिका कपडा सिलाइकटाइ गरी घरबाटै व्यावसाय सुरू गरेकी गोमाले चार वर्ष इलाममै बिताइन् ।

विसं २०७६ सालतिर गोमा परिवारसहित इलामबाट झापाको दमक बसाइ सरिन् । बसाइ सरेसँगै आफूले सिकेको सीप र व्यवसायसमेत निरन्तरता दिएकी गोमाले ढाकाका झोला तथा पर्सको राम्रो सम्भावना देखेपछि वडा कार्यालयबाट सञ्चालित १५ दिने ढाकासम्बन्धी तालिम लिइन् । साथै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट दोस्रो तहको तालिमसमेत लिइन् । यो तालिमपश्चात उनको परिचय सिलाइसम्बन्धी प्रशिक्षकको रूपमा स्थापित भयो । अब उनले परिषद् तथा अन्य संस्थाका आधारभूत तह–१ का तालिममा प्रशिक्षण गर्न योग्य भइन् । तालिम दिन जिल्लाका विभिन्न ठाउँमा जानुपर्ने तथा केन्द्रसमेतमा उत्पादनको उच्च माग रहेकोले दुवैतिर समय मिलाउन मुस्किल हुने गरेको गोमा बताउँछिन् ।

व्यावसायलाई उकास्न समय–समयमा घरेलुले गरेको प्रविधिमा अनुदान सहयोगले काम गर्न थप ऊर्जा प्राप्त हुँदै गएको गोमा सुनाउँछिन् । विभिन्न सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाबाट हुने यस्ता अनुदान सहयोगको उचित सदुपयोग गर्ने हो भने गाउँमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्ना उत्पादनलाई स्थानीय मेला, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत प्रचार–प्रसाहर गर्दै आएकी छन् ।

आपूmले सञ्चालन गरेको केन्द्रले महिला दिदिबहिनीलाई सीप सिकाउने, आम्दानीको स्रोत प्रदान गर्ने र आत्मबल बढाउने काम गरेकोमा सन्तुष्टी मिल्ने गरेको गोमा बताउँछिन् । सिलाइ कटाइसँगै ग्रामेन्टसमेतको उद्ययोग दर्ता गरिसकेकाले विस्तारै विस्तारै व्यावसाय बढाउँदै लैजाने उनको योजना छ ।