३१ जेष्ठ २०८२ , शनिबार

सुनको मूल्य आकासियो, तोलामा ४ हजार २०० रुपैयाँले बढ्यो

News
३० जेष्ठ, काठमाण्डौँ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ४ हजार २०० ले बढेको छ। चाँदीको मूल्यमा पनि तोलामा रु १५ ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९७ हजार १०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदी रु २ हजार १६५ मा कारोबार भइरहेको छ।

गत मंगलबार एक तोला सुनको मूल्य रु १ लाख ९० हजार र चाँदीको मूल्य रु २ हजार १५० थियो। यस आधारमा सुनको मूल्य निरन्तर बढिरहेको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा चाप परेको हो।