गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजनामा पोखराबाट लम्जुङको सिङ्दी हुँदै दूधपोखरी, लम्जुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्पिङडाँडालगायत स्थानलाई पदमार्गका रूपमा समेट्ने गरी खोज तथा अन्वेषण गरिने भएको छ।
गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि आगामी असार १ गतेसम्म उक्त क्षेत्रमा प्रवर्द्धनात्मक खोज तथा अनुसन्धानात्मक पदयात्रा गर्न लागिएको हो।
सङ्घका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङका अनुसार पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ-भुजुङ-घनपोखरा-राप्रुजु-क्युपारा-थुर्जु-दूधपोखरी तथा गुरुङ देउरालीको ब्रोखर्का-सिउरुङ-हर्पिङडाँडा हुँदै पुनःपोखरासम्मको खोज तथा अनुसन्धानात्मक पदयात्रा गर्न लागिएको हो।
पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित आसपासका पर्यटकीय गन्तव्यको संरक्षण, प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेका बेला जिटिनले पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्पका रूपमा गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धन र विकास गर्न लागेको उहाँको भनाइ छ।
सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिनेक्रम बढिरहेकाले सङ्घको संयोजन एवं पर्यटन बोर्डको प्रवर्द्धन तथा कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा यसअघि स्थलगत अध्ययन अनुसन्धानपछि गुरुङ सम्पदा पदमार्गको औपचारिक घोषणा गरिसकिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए।
प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रूपमा रहेको यो पदमार्गमा यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई असर नपर्ने, प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानि नपुग्ने गरी प्रवर्द्धन गर्नेतर्फ सङ्घ लागिरहेको जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताए। सङ्घले चरणबद्ध खोज तथा अनुसन्धानसँगै प्रवर्द्धनात्मक कार्यक्रम गरेर सन् २०२६ देखि पूर्ण रूपमा गुरुङ सम्पदा पदमार्ग सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिइन्।
यसै पदमार्ग भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरूमा फैलिएका संस्थापक अध्यक्ष गुरुङको भनाइ छ।
खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी मार्ग आवश्यकता अनुसार सञ्चालनमा ल्याउन सकिने भन्दै सहायक पदमार्गहरू पहिचान गरिसकिएको संस्थापक अध्यक्ष गुरुङले जानकारी दिए। उहाँका अनुसार यी पदमार्गमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने अध्ययनले देखाएको छ।
भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्गको पदयात्राको उच्च बिन्दु चार हजार ९१० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ) सम्म रहेको छ। पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्र«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने यहाँको विशिष्टता हो।
सिङ्दीबाट गर्नलागिएको खोज तथा अन्वेषणत्मक पदयात्राले यहाँका सम्भावनासँगै अत्यावश्यकीय पूर्वाधार विकासलाई उजागर गर्ने उहाँले विश्वास व्यक्त गरे। पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी, पथप्रदर्शक, सञ्चारकर्मीसहित पदयात्रा मजदुर गरी ५५ देखि ६० जनाको सहभागिता रहने उहाँले जानकारी दिए।