गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको छ। आक्रमणमा कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन्।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए। उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए। मृतकमध्ये एकजना सात महिनाकी गर्भवती महिला रहेको थियो।
उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उहाँकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ। अन्य घातक आक्रमणहरू देइर अल बालाह, बेत लाहिया तथा खान युनिस जस्ता क्षेत्रमा पनि भएको जनाइएको छ।
हालैका दिनहरूमा इजरायली सेनाले गाजामा आफ्ना कारबाहीहरू तीव्र बनाएको छ, जसलाई उसले हमासलाई समाप्त पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिँदै युद्धविराम अन्त्य भएको ५ मार्च यता तीन हजार ७८५ जनाको मृत्यु भइसकेको जनाएको छ। योसँगै युद्ध सुरु भएदेखि मृतकको कूल सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण नागरिकहरू रहेका छन्।
सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट युद्ध सुरु भएको थियो, जसमा एक हजार २१८ जनाको मृत्यु भएको थियो। तीमध्ये अधिकांश सर्वसाधारण थिए।