२२ बैशाख २०८२ , सोमबार

राष्ट्रकवि घिमिरेको जन्मस्थलमा उद्यान र सालिक निर्माण, राष्ट्रपतिबाट अनावरण हुने

News
२१ बैशाख, काठमाण्डौँ ।

राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ।

गण्डकी प्रदेश, पर्यटन मन्त्रालयबाट रु २० लाख, सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको लागतमा उद्यानको संरचना निर्माण गरिएको हो।

उद्यान निर्माण उपभोक्ता समितिका सचिव विष्णु गुरुङका अनुसार उद्यानमा राष्ट्रकविको जीवन दर्शन, साहित्य साधना र राष्ट्रिय योगदानको प्रतीक राखिएको छ। राष्ट्रकविले बाल्यकालमा खेल्नेबस्ने गरेको उपलटाउको चौतारा संरक्षण समेत भइरहेको छ।

नवनिर्मित उद्यान तथा सालिकको राष्ट्रपति रामचन्द्र पौडेलले आज अनावरण तथा शुभारम्भ गर्ने राष्ट्रकवि प्रतिष्ठान तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरले जानकारी दिएका छन्।

राष्ट्रकवि माधव घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो। नेपाली साहित्यमा गम्भीर साधनारत रहनुभएका घिमिरेले कविता, गीत, गीतिनाटक, निवन्ध, नाटक, बालसाहित्यलगायत विधामा विशिष्ट योगदान दिनुभएको थियो। ‘गौरी’, ‘मालती मङ्गले’, ‘राजेश्वरी’, ‘अन्तरक्रिया’, ‘भारती’, ‘सकुन्तला’लगायत कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन्।