गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आइतबार देखि सुरु भएको छ।
बैठकको सुरुमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।
शून्य समयमा प्रदेशसभा सदस्यहरूले बर्सात नजिकिँदै गर्दा सम्भाव्य प्राकृतिक प्रकोपबारे बेलैमा सचेततासँगै पूर्वतयारी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदेशसभा सदस्य टीकाकुमारी बस्यालले गण्डकीमा एउटा जिल्ला तराईबाहेक सबै पहाडी र हिमाली जिल्ला रहेकाले सम्भाव्य प्राकृतिक जोखिमका सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताइन्। सदस्य डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगत ३० वर्षभन्दा ठूलो परिणाममा वर्षा हुने भनेको सन्दर्भमा समयमा नै विपद् जोखिमबाट बच्ने गरी अतिरिक्त व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रदेशसभा सदस्य विकल शेरचनले पनि हिमाली जिल्लामा हुने जोखिमको पूर्वआकलन गर्न जरुरी भएको बताए। प्रदेशसभा सदस्य प्रकाश बरालले गत वर्ष फेवाफाँटको धानमा लागेको गबारोका कारण क्षति पुगेका किसानहरू अझै पनि राहतको आशामा रहेकाले त्यसको सम्बोधन हुनुपर्नेमा जोड दिए।