२२ बैशाख २०८२ , सोमबार

गगन थापाको दाबी: सीप र क्षमता भए डाँडामा बसेरै लाखौं कमाउन सकिन्छ

News
१६ बैशाख, काठमाण्डौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपयुक्त सीप र क्षमता भए डाँडामा बसेरै पनि लाखौं कमाउन सकिने बताएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्।

थापाले यसअघि कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई-तीन लाख कमाउन सकिने कुरा गर्दा धेरैले मजाक उडाएको स्मरण गर्दै भने, "मैले त्यो एउटा कल्पना गरेको थिएँ, जुन सम्भव छ। यदि हामीले व्यक्तिलाई सही सीप र क्षमता दियौं भने त्यो सम्भव हुन्छ।"

उनले अहिलेको युग ज्ञान अर्थतन्त्रमा प्रवेश गरिसकेकोले अवसरहरू प्रशस्त रहेको बताए। "अब हामी नलेज इकोनोमीमा छिरिसक्यौं। चीनमा जन्मिएको एउटा केटाले डीपसिक बनाएर सिलिकन भ्यालीलाई चुनौती दिन सक्छ भने, त्यो ज्ञानको शक्तिले नै सम्भव भएको हो," थापाले भने।

उनले ज्ञान अर्थतन्त्रले लाखौंलाई नयाँ अवसरहरू प्रदान गर्ने र विपन्न समुदायलाई ती अवसरबाट वञ्चित हुन दिन नहुनेमा जोड दिए।