२८ बैशाख २०८२ , आईतवार

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

News
२५ बैशाख, काठमाण्डौँ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई स्थानीयवासीले चन्दा सङ्कलन गरेर खरिद गरिएको बस हस्तान्तरण गरिएको छ।

बुधबार आयोजित एक कार्यक्रममा विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले बताए। उनले स्थानीयवासीको सक्रियतामा चन्दा सङ्कलन गरी खरिद गरिएको बस मदर्शालाई प्रदान गरिएको जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे। स्थानीयवासीले चन्दा सङ्कलन गरी बस हस्तान्तरण गरेकामा धन्यवाद दिँदै उनले शिक्षा प्रवर्द्धनतर्फ यो ऐतिहासिक कदम भएको बताए। अध्यक्ष आजादले भने, “हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ। सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।”

विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकामा अब राहत मिल्ने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए। उनले खुसी व्यक्त गर्दै भने, “विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउनुपर्थ्यो। अब केही राहत हुनेछ। यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ।”