काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबको प्रलोभनमा रोजगारीका लागि विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ङवाङ गेली शेर्पा, शर्मिला थापा, मानबहादुर बस्नेत र मेन्तन राई रहेका छन् ।
उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर विदेश नपठाई सम्पर्कविहीन भएका थिए । पीडितहरूले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो ।
शेर्पालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको थियो । उनले ९ लाख ३१ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ । थापालाई काठमाडौं महानगरपालिका वडा नं. २६ बाट पक्राउ गरिएको थियो र उनले ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ । बस्नेतलाई काठमाडौं महानगरपालिका वडा नं. ३ बाट पक्राउ गरिएको थियो । उनले १० लाख रुपैयाँ ठगी गरेको आरोप छ । राईलाई काठमाडौं महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरिएको थियो । उनले ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।
पक्राउ परेका व्यक्तिहरू विरुद्ध ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।