२३ बैशाख २०८२ , मंगलवार

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

News
९ बैशाख, काठमाण्डौँ ।

सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् ।

वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा साहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक पासवानका अनुसार साहले २०८० माघ १९ गते वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा उनी नेकपा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।