दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित भएका छन्।
गत डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग लगाएपछि निलम्बित युनलाई गत महिना औपचारिक रूपमा पदबाट हटाइएको थियो। उनी दक्षिण कोरियाको इतिहासमा पदमा रहेकै समय पक्राउ पर्ने पहिलो राष्ट्रप्रमुख बनेका थिए। यद्यपि, पछि उनलाई प्रक्रियागत आधारमा रिहा गरिएको थियो।
युनलाई सियोलको अदालतले सुनुवाईमा उपस्थित हुन आदेश दिएको थियो र भूमिगत पार्किङ स्थलबाट प्रवेश गर्ने उनको अधिकार खोसिएको थियो। यसको अर्थ उनले पहिलो पटक सञ्चारकर्मीहरूको प्रश्नको सामना गर्नुपर्ने थियो। सुट र रातो टाईमा सजिएका युन अदालतमा उपस्थित हुँदा पत्रकारको कुनै पनि प्रश्नको जवाफ नदिई अगाडि बढेका थिए।
यसअघिका सुनुवाइमा पूर्व राष्ट्रपतिले ९० मिनेटभन्दा बढी बोलेका थिए र आफूले विद्रोह गरेको कुरा अस्वीकार गरेका थिए। सन् १९७९ मा भएको ‘कू’ मा दुई जना सैन्य नेतापछि विद्रोहको लागि दोषी ठहरिने युन दक्षिण कोरियाका तेस्रो राष्ट्रपति हुनेछन्। विद्रोहको अभियोगमा युनलाई आजीवन कारावास वा अधिकतम सजाय मृत्युदण्ड हुनसक्छ। तर, दक्षिण कोरियामा सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाइएकोले उनलाई मृत्युदण्डको सजाय हुने सम्भावना कम छ।
मे महिनाको सुरुमा अभियोजनकर्ताहरूले युनलाई सैनिक कानुन (मार्शल ल) को घोषणालाई लिएर शक्तिको दुरुपयोग गरेको अभियोगमा बिना नजरबन्द अभियोग लगाएको थियो। पूर्व प्रथम महिलाका लागि ठूलो उपहार लिएको आरोपमा उनकी पत्नी किम किओन ही र एक मध्यस्थको संलग्नता रहेको आरोपमा अनुसन्धानको क्रममा अनुसन्धानकर्ताहरूले सोलस्थित युनको निजी निवासमा छापा मारेको एक दिनपछि यो अभियोग लगाइएको हो।
आइतबार युनको पार्टी, सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी) ले पूर्व श्रममन्त्री किम मुन–सोलाई आफ्नो राष्ट्रपतिको उम्मेदवारको रूपमा दर्ता गरेको थियो। युनले फेसबुकमा लेख्नुभएको छ, “जुन ३ को चुनाव दक्षिण कोरियाको उदार लोकतान्त्रिक प्रणालीका लागि जीवन मरणको विषय हो।” उनले थपे, “नागरिकहरू, विशेष गरी हाम्रो युवा पुस्ता जसले स्वतन्त्रताको कदर गर्छन्, म तपाईंहरूलाई फेरि एक पटक हाम्रो साथमा उभिन आग्रह गर्दछु।” ६४ वर्षीय युनले यस्तो आग्रह गरेका हुन्।