२३ बैशाख २०८२ , मंगलवार

श्रमिक वर्गको योगदान महत्वपूर्ण, अधिकार सुनिश्चित गर्नुपर्छ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

News
१८ बैशाख, काठमाण्डौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताएकी छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उनले सामाजिक सञ्जाल एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरुको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले भनेकी छन्, “विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ। बेरोजगारी र युवाशक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्।”

श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताएकी छन्।

यसै अवसरमा शुभकामना सन्देश दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि श्रमजीवी मजदुर वर्गको हकहित अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका छन्। सन्देशमा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रमिकको हकहितका लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सम्पूर्ण श्रमिक वर्गमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानप्रदत श्रमिकको हकअधिकारको रक्षा, सामाजिक सुरक्षा, समता र न्यायपूर्ण समाज निर्माण अपरिहार्य भएको बताएका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पूर्ण श्रमिकमा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै श्रमिकका अधिकारको रक्षा तथा उनीहरूको सुरक्षाका निम्ति प्रदेश सरकार तत्पर रहेको बताएका छन्।