३ जेष्ठ २०८२ , शनिबार

दमकका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

News
३ जेष्ठ, काठमाण्डौँ ।

दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको ७२ वर्षको उमेरमा निधन भएको छ । दमक–५ निवासी बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो ।

मुटु र मिर्गौला रोगबाट पीडित रहेका बुढाथोकी २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

पछिल्लो समय एमाले परित्याग गरी उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आजै अन्त्येष्टि गरिने जनाइएको छ ।

दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति समवेदना व्यक्त गर्दै नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा उनले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेकी छन् ।