परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन्।
जापान भ्रमण पूरा गरी स्वदेश फर्किएपछि उनले भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल–जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन्। उक्त भेटवार्ता मुलुकका लागि उपलब्धिमूलक रहेको उनको सचिवालयले जनाएको छ।
मन्त्री डा राणाले भनिन्, “यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो। त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो।”
परराष्ट्रमन्त्री डा राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो। त्यस भेटका अवसरमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।
मन्त्री डा राणाले जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन्। सो भेटमा उनले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गरेकी थिइन्।
जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि उनीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। जापानमा रहँदा मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन्।