३ कार्तिक २०८२ , सोमबार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रोम र बर्लिन भ्रमण सम्पन्न गरी स्वदेश फर्किन्

News
२७ असार, काठमाण्डौँ ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई आज स्वदेश फर्किएकी छन्। जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै त्यसै क्रममा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा राणाले सम्बोधन गरेकी थिइन्।

सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरूले आधार प्रदान गरेको जानकारी दिएकी थिइन्। खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणका माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताएकी थिइन्।

त्यसपश्चात् जर्मनीको भ्रमणका क्रममा मन्त्री डा राणाले त्यहाँका विदेशमन्त्री डा जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। गत मङ्गलबार बर्लिनमा भएको उक्त भेटवार्तामा नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्द्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन्। उनले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गरेकी थिइन्। उनले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग अनुरोध गरेकी थिइन्। उनले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को सदस्य, आर्थिक तथा सामाजिक परिषद् सदस्य तथा सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालको उम्मेदवारीमा सहयोगका लागि आग्रह गरेकी थिइन्।