भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन्। आज बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।
जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै फ्लाईओभरबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उनले बताए। “अब पनि ढिलाइ गर्ने छुट छैन”, मन्त्री दाहालले भने, “परिस्थिति बाहिरको प्राकृतिक विपद् नआएमा जेठको अन्त्यसम्ममा सवारीसधान सञ्चालनको तयारी गर्नुपर्छ। यो एउटा प्रतिक्षाको आयोजना भएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्ने छ।”
फ्लाईओभरअन्तर्गत ३५ मिटर स्पानको चारलेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भइरहेको छ। फ्लाईओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका बताउँदै ती समस्या समाधान भइसकेका जानकारी दिए। सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाईओभर महत्त्वपूर्ण योजनाका रूपमा रहेकाले यसलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने धारणा राखे।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्र भइरहेको छ। विसं २०८० फागुन ११ गते सम्पन्न गर्नेगरी रु १७ करोड ६ लाख ८८ हजारको लागतमा निर्माण सुरु भएको फ्लाईओभर निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप भएको थियो।