अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ। आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो।
बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण सङ्कलनमा केही समय लाग्ने बस्नेतले बताए। थप क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।