रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।
अनुसन्धान समितिले शुक्रबार दिएको जानकारीमा प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत चुहावट भई आगलागी भएको देखाएको छ। स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको जनाइएको छ।
आगलागीका कारण तीन पुरुष र एक महिलाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ। उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।
हाल आगो नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।