लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि पहिलोपटक दमकल प्रयोग गरिएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानू र ठूलोभार्खुबीचको जङ्गलमा लागेको डढेलो नियन्त्रणबाहिर गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा दमकल प्रयोग गरिएको हो।
त्यसका लागि नुवाकोटको विदुर नगरपालिकाबाट दमकल मगाइएको उनले जानकारी दिए। पासाङल्हामु मार्गको डिलबाट दमकलले डढेलो निभाउनका लागि प्रयास भइरहेको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि रसुवामै पहिलोपटक दमकल प्रयोग भएको जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा आगो नियन्त्रणको प्रयास गरिए पनि हावाहुरी र बढी भिरपाखो भएका कारण परिस्थिति काबुभन्दा बाहिर गएपछि दमकल मगाइएको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए।
सुरक्षा अङ्गले मानव बस्तीलाई संरक्षण गरिरहेको र हालसम्म कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।