११ जेष्ठ २०८२ , आईतवार

नैरोबीको बस्तीमा आगलागी, ८ को मृत्यु

News
११ जेष्ठ, काठमाण्डौँ ।

केन्याको राजधानी नैरोबीको एक अनौपचारिक बस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी सुरु भएको प्रहरी अधिकारी पेट्रिसिया येगोनले जानकारी दिए। आगलागीमा आठ जनाको जलेर मृत्यु भएको र कैयौँ घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्थानमा उपचार भइरहेकोले घाइते हुने व्यक्तिको स्पष्ट सङ्ख्या अझै सङ्कलन भइरहेको छ।

आगलागी कसरी सुरू भयो यसबारे कारण खुल्न सकेको छैन। राजधानीका भीडभाड र विपन्न अनौपचारिक बस्तीहरूमा बारम्बार डढेलो लाग्ने गर्छ।

केन्याली रेडक्रसका अनुसार स्थानीय समुदायको सहयोगमा अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिनुअघि ४० घर प्रभावित भएका थिए।