८ जेष्ठ २०८२ , बिहीबार

भक्तपुरमा ‘प्रहरी इन्सपेक्टर’ भन्दै ठगी गर्ने एक र स्कुटर चोर गिरोहका सात जना पक्राउ

News
८ जेष्ठ, काठमाण्डौँ ।

भक्तपुर प्रहरीले ‘प्रहरी इन्सपेक्टर’ हुँ भन्दै ठगी गर्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने गिरोहका सात जनालाई बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार, भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरेको हो। प्रहरी इन्सपेक्टर हुँ भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका गिरीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको नेउपानेले बताए।

यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन्।

पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर र बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिए। पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले बताए।