७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ ।
स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिनको स्मरण गर्दै शुक्रबार बार्सिलोनामा ‘सगरमाथा उत्सव’ मनाइएको हो ।
सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै स्पेनमा पनि सगरमाथा दिवस मनाइएको हो ।
सगरमाथा आरोही तथा आठ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने स्पेनी पर्वतारोहीलाई सम्मान गरिएको थियोे । सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर इतिहास रच्ने स्पेनी पर्वतारोही तथा भूगर्भविद् प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेज, ‘एभरेस्ट ९३’ वृत्तचित्रका निर्देशक तथा पर्वतारोही जौमे अल्टाडिल क्लुआ, महिला पर्वतारोही मेरी पुइग रेबस्टेस र पर्वतारोही लुइस बेल्भिस आई डेल रियोलाई विशेष सम्मान गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।
कार्यक्रममा सहभागी स्पेनी पर्वतारोहीहरूले नेपालसँगको आफ्नो पुरानो सम्बन्ध र हिमाल आरोहणको सुखद् पलको स्मरण गर्दै हिमाल चढ्नुभन्दा हिमालको महत्व बुझ्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए । पर्वतारोहीहरूले जलवायु परिवर्तनका कारण देखापरेका असर र चुनौतीबारे चिन्ता व्यक्त गर्दै हिमाली क्षेत्रको संरक्षणमा जोड दिए । सगरमाथा गौरवको शिखर मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै सगरमाथालगायतका हिमाली क्षेत्रको संरक्षण विश्व समुदायको साझा दायित्व र जिम्मेवारी रहेको धारणा व्यक्त गरेका थिए ।
स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध विस्तारका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सगरमाथा उत्सवको आयोजना गरेर सगरमाथा दिवस मनाइएको बताए।
‘समुद्रदेखि सगरमाथासम्म’ भन्ने अवधारणा अनुरुप उत्सवले सगरमाथाको गौरवशाली इतिहासलाई उजागर गर्ने अवसर प्रदान गरेको उनले बताए। सगरमाथाले नेपाल र विश्वबीचको मित्रता जोड्ने पुलको रूपमा काम गरेको उल्लेख गर्दै राजदूत नेपालले नेपाल भ्रमणका लागि निमन्त्रणा दिइएको बताए। जलवायु परिवर्तनका कारण देखापरेका असर र चुनौतीको सामनाका लागि समुद्रको देश र हिमालको देशले बढी ध्यान दिनुपर्ने उहाँको धारणा थियोे।
कार्यक्रममा सहभागी स्पेनी पर्वतारोहीहरुले हिमालसँग गहिरो सम्बन्ध रहेको भाव व्यक्त गर्दै नेपाललाई दोस्रो घरको रुपमा व्यक्त गरेको उनले बताए। उत्सवले नेपाल र स्पेनबीचको संस्कृति र मित्रताको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउने अपेक्षा गरिएको राजदूत नेपालले बताए।
त्यस अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको प्राकृतिक सौन्र्दर्यता, सांस्कृतिक विविधता, पर्यटनको सम्भावना, जलवायु परिवर्तनका असर, सगरमाथा लगायत हिम श्रृङ्खलाको आकर्षण र अवस्था लगायतका विषयमा जानकारी गराएका थिए।