१६ जेष्ठ २०८२ , शुक्रबार

ऊर्जा क्षेत्रमा अमेरिकी सहयोग निरन्तर रहने अमेरिकी राजदूतको प्रतिबद्धता

News
१४ जेष्ठ, काठमाण्डौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

मन्त्री खड्काले एमसिसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहेको भएता पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए । उनले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे ।

राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसिसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो । उनले अहिले एमसिसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे ।

एमसिसीअन्तर्गत सञ्चालित एमसिए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाइन र सम्बद्ध सवस्टेसन निर्माण हुनेछ । भेटमा एमसिसी तथा एमसिएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।