२५ जेष्ठ २०८२ , आईतवार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास, पर्यटकको सङ्ख्या भने न्यून

News
१२ जेष्ठ, काठमाण्डौँ ।

पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास हुन थालेको छ। पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब ७०० पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन्। गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी जम्मा ७०० को हाराहारीमा निकुञ्जभित्र प्रवेश गरेर अवलोकन गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए।

निकुञ्जले बाघ संरक्षणमा सफलता हासिल गरेपनि पर्यापर्यटनको विकास हुन नसकेको उनको भनाइ छ। सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वयस्क बाघ रहेका छन्। यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन्। विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा रहेको छ।

निकुञ्जमा वन्यजन्तुसँगै प्राकृतिक दृश्य हेर्न पर्यटकको सङ्ख्या बढ्दै गए पनि सन्तोषजनक अवस्था नरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए। बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन्।