२२ बैशाख २०८२ , सोमबार

पूर्वीय ज्ञान, परम्परा र सभ्यताले विश्वमा शान्ति र सहिष्णुताको भावना जागृत गराउनुपर्छ : राष्ट्रपति

News
२० बैशाख, काठमाण्डौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यसले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्ने बताएका छन्।

आज नागार्जुन–७ रामकोटमा निर्मित बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन्। उनले भने, “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो। यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ। यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ।”

राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कृति र परम्पराको प्रवद्र्धन गर्न मन्दिरहरूले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनको भनाइ थियो।

"विश्वमा भौतिक विकासको होडबाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ," उनले भने, "आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा मन्दिरबाट योगदान पुग्ने मैले विश्वास लिएको छु।"