२३ बैशाख २०८२ , मंगलवार

डिभी लोटरी २०२६: नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने?

News
२१ बैशाख, काठमाण्डौँ ।

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा आज न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे सार्वजनिक भएको छ।

गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका हजारौं नेपाली नागरिकहरूले अब आफ्नो कन्फर्मेसन नम्बर, थर र जन्म मिति प्रयोग गरी अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा गई आफ्नो नतिजा जाँच गर्न सक्नेछन्।

यदि तपाईं डिभी लोटरीमा छनोट हुनुभएको छ भने, सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न पाउनेछन् र सन् २०२६ को सेप्टेम्बर ३० भित्र आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी भिसा प्राप्त गरिसक्नुपर्नेछ।

यद्यपि डिभी लोटरीले धेरै नेपालीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्ने सपना पूरा गर्ने मौका दिएको छ, यस कार्यक्रमको भविष्य भने अनिश्चित छ। अमेरिकी कंग्रेसमा रिपब्लिकन सांसदहरूले यो कार्यक्रमलाई खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन्। आर्थिक वर्ष २०२६ का लागि ५०,००० डाइभर्सिटी भिसा उपलब्ध गराउने तयारी भइरहेको भए तापनि, यसको कार्यान्वयनमा आशंका कायमै छ।

तथ्याङ्क अनुसार सन् १९९५ यता ५७ हजारभन्दा बढी नेपालीहरूले यस कार्यक्रममार्फत ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। डाइभर्सिटी भिसा कार्यक्रम अमेरिकी आप्रवासन नीतिको एक महत्वपूर्ण हिस्सा हो, जसले विश्वका कम आप्रवासी भएका देशहरूका नागरिकहरूलाई अमेरिकामा स्थायी रूपमा बस्ने र काम गर्ने अवसर प्रदान गर्दछ।