काठमाडौं प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका १३, बाफलबाट सुजन श्रेष्ठ नामका १९ वर्षीय युवकलाई पक्राउ गरिएको हो।
प्रहरीले दिएको जानकारी अनुसार, श्रेष्ठको साथबाट १ हजार ट्याब्लेट नाइट्राजेपाम, ८८ क्याप्सुल ट्रामाडोल, बा ९७ प ५९४२ नम्बरको स्कुटर, नगद १६ हजार रुपैयाँ र दुईवटा मोबाइल फोन बरामद गरिएको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १२ टेकु बस्ने श्रेष्ठलाई बाफलस्थित सडक किनारामा रोकिराखेको स्कुटरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्र.उ. अपील राज बोहराले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।