२६ जेष्ठ २०८२ , सोमबार

बागलुङमा आन्तरिक पर्यटकको आगमन बढ्यो

News
७ जेष्ठ, काठमाण्डौँ ।

बागलुङमा विदेशी पर्यटकको संख्या कम भए पनि आन्तरिक पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राको लागि आउने पर्यटकहरूले बागलुङलाई गन्तव्य बनाएका छन्।

बागलुङ कालिका मन्दिर, पञ्चकोट र शालग्राम संग्रहालयमा आन्तरिक पर्यटकका सवारी साधनहरू प्रशस्तै देखिन्छन्। पर्यटकको चाप बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापन गर्न समेत कठिन भएको छ। नेपालकै लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्षमा पनि पर्यटकको संख्या बढ्दै गएको छ।

विराटनगर र पोखराबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू तथा विभिन्न ठाउँबाट तीर्थयात्रामा आउने श्रद्धालुहरूले बागलुङका धार्मिक र पर्यटकीय स्थलहरू रोज्न थालेका छन्। पञ्चकोट, बालाजीधाम मन्दिर र कुडुँलेको शालग्राम संग्रहालयमा दैनिक घुम्न आउनेहरूको घुइँचो लाग्ने गरेको छ। गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालग्राम संग्रहालयको दर्शन गरेको स्थानीय अर्जुन सापकोटाले जानकारी दिए।

नयाँ वर्ष २०८२ को पहिलो दिन शालग्राम शिलामा धेरै पर्यटक आएका थिए। चैते दसैँपछि विद्यालय तथा क्याम्पसहरूले शैक्षिक भ्रमणमा विद्यार्थीहरूलाई विभिन्न ठाउँमा लैजाने क्रम बढेको छ, जसमा धेरैजसो पोखरा क्षेत्रबाट आएका छन्। सदरमुकामबाट नजिकै रहेको संग्रहालयमा आउने ५० प्रतिशत पर्यटक मुस्ताङसम्म पुग्ने गरेको सापकोटाले बताए।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिर र बागलुङ नगरपालिका आसपासका पर्यटकीय स्थलहरूमा मुक्तिनाथ जाने र शैक्षिक भ्रमणमा आउने पर्यटकको संख्या बढेको छ। चैते दसैँ र बडा दसैँमा मात्रै नभएर नयाँ वर्षमा पनि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ। चैते दसैँयता ६ लाख पर्यटक भित्रिएका छन्।

हेटौंडाबाट आएका राम मर्हजनले बागलुङको पर्यटनको बारेमा सुनेर शैक्षिक भ्रमणको लागि आएको बताए। उनले पञ्चकोट, शालग्राम संग्रहालय र कालिका मन्दिरको दर्शन गरेको जानकारी दिए।

पर्यटन व्यवसायीहरूका अनुसार मुस्ताङ जाने पर्यटकहरूलाई पनि बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको छ। शैक्षिक भ्रमण र घुम्न आउने पर्यटकका कारण बागलुङका होटलहरू भरिभराउ छन्। नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनुका साथै पर्यटन व्यवसायीको सक्रियताले आन्तरिक पर्यटकको आगमन बढेको हो।