देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडक सम्झौताको म्याद सकिनु एक महिनाअघि नै कालोपत्रे भएको छ।
निर्माण कम्पनी दक्ष इन्जिनियरिङ चितवनले सम्झौता अवधिभन्दा अगाडि नै कालोपत्रेको काम पूरा गरेको हो। सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्रे गर्न सो कम्पनीसँग गत कात्तिक २७ गते सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी असार २० गतेसम्ममा कालोपत्रे गर्नुपर्ने थियो।
सडक डिभिजन कार्यालय चितवनमार्फत सो कालोपत्रेको ठेक्का लगाइएको हो। कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवनमार्फत र बाँकी ३३० मिटर शहरी विकास मन्त्रालय अन्तरगतको पूर्वाधार कार्यालय पोखरामार्फत् गरिएको हो। उक्त सडक कालोपत्रेका लागि रु एक करोड ५६ लाख लागत अनुमान गरिएको भए पनि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले रु एक करोड सात लाख ६५ हजारमा निर्माण गरेको हो।
देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरामा बनेको मोटरवेल पुल जोड्ने उक्त बाटो कच्ची हुँदा मानिसहरूलाई समस्या थियो। सडक कालोपत्रे भएपछि आवतजावतमा सजिलो भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले बताए। "सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी हैरान थिए। अहिले नालासहित सडक कालोपत्रे भएको छ," उनले भने।