२४ जेष्ठ २०८२ , शनिबार

जनकपुरधाम धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण छ: देउवा

News
२३ जेष्ठ, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

जनकपुरधाम–८ स्थित मैथिली विकास कोषले निर्माण गरेको नवनिर्मित मैथिली भवनको आज यहाँ उद्घाटन गर्दै उनले जनकपुरधामले नेपाल–भारतबीचको सम्बन्ध बढाउन पनि यसले भूमिका खेलेको उल्लेख गरे।

मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको रु सात करोड ५० लाखमा निर्माण भएको उक्त भवन पाँच कठ्ठामा फैलिएको छ। एउटा सभाहलसहित भवनमा ३० वटा कोठा छन्।

त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर हाम्रो सभ्यता तथा संस्कृतिसँग परापूर्वकालदेखि जोडिएको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटनसँग जोडनुपर्ने आवश्यक्ता औँल्याए। मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यस संस्थाको उद्देश्य, पहिचान तथा गरिमा बढाउनका लागि मन्त्रालयले लगानी गरेको बताए।

पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले नेपालका सबै जातजाति तथा समूदायलाई आफ्नो धर्म तथा संस्कृतिको पहिचान तथा संरक्षणको अधिकार दिएको स्मरण गरे। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिलाको गरिमा तथा महत्व बढाउनका लागि सबैको सहयोग आवश्यक हुने धारणा व्यक्त गरे।

त्यस अवसरमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री रामसरोज यादव तथा नेपाली कांगे्रस मधेस प्रदेश संसदीय दलका नेता कृष्णायादवलगायतको उपस्थिति थियो।