८ कार्तिक २०८२ , शनिबार

रामअयोध्याप्रसाद यादवको निधनमा सभापति देउवाले गरे दुःख व्यक्त

News
१८ असार, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यादवको गए राति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। स्व. यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उहाँले उल्लेख गर्नुभयो।

बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो। विसं २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट उहाँ निर्वाचित हुनुभएको थियो। यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ।