२१ जेष्ठ २०८२ , बुधबार

विदेशको कमाइ छाडेर गाउँमै करोडपति बने देउकुमार

News
१९ जेष्ठ, काठमाण्डौँ ।

"देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ," देउकुमार लिम्बुले विगत सम्झँदै मुस्कुराएर भने, "अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय भएको छ।"

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भए विदेशिनै पर्छ भन्ने छैन। भद्रपुर नगरपालिका–१ का उनी अहिले 'लिङ्देन कृषि फार्म' चलाइरहेका छन्। तर यहाँसम्म आइपुग्न उनले गरेको सङ्घर्ष निकै लामो छ।

२४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए। "मलेसिया जाँदा धेरै पैसा कमाउने र परिवारलाई सुख दिने सपना थियो। काम पनि राम्रै पाएँ, तलब बढ्दै गयो। मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे। तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ," उनले भने।

मलेसियाबाट फर्किएपछि देउकुमार सुरुमा खेतीमा लागेनन्। दुई वर्ष के गर्ने भन्ने दोधारमै बिते। विदेशमा अरूको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन भन्ने उनलाई लाग्यो। त्यसपछि उनले कृषि फार्म सुरु गर्ने निर्णय गरे। "म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ, त्यही सीप र अनुभवले यहाँ फार्म खोल्न सजिलो भयो," उनले भने।

मलेसियाबाट ल्याएको थोरै पैसाबाट देउकुमारले 'लिङ्देन कृषि फार्म' स्थापना गरे। सुरुमा सानो क्षेत्रफलमा तरकारी लगाए। अहिले उनको फार्म चार बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। हाल उनको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ। फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारी, केरा, सुपारी खेती, बङ्गुर र माछापालन गरेका छन्।

उनी बेमौसमी तरकारी उत्पादनमा ध्यान दिन्छन्। "बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ। त्यसैले कहिलेकाहीँ त पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ," उनले भने।

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेका छन्। "जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन्," उनले भने। उनको सफलताको अर्काे पाटो हो, स्थानीय युवालाई रोजगारी दिनु। अहिले उनको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन्। तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन्। "सिजनमा मजदुर पाउन गाह्रो पर्छ। मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्," उनले भने।

खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उनी बताउँछन्। "मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ। मलजल, बिउको छनोट र समयमा स्याहार गर्नुपर्छ," उनले भने। मलेसियामा पनि मेहनत गर्थे, तर त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उनको बुझाइ छ।

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन्। "मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु हो। यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिन्छ," उनले भने।

किसानलाई दिइने सरकारी अनुदानबारे पनि उनी स्पष्ट छन्। "कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ। यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ," उनले भने।

देउकुमार युवापुस्तालाई आग्रह गर्दै भन्छन्, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस। सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ।”