उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रमका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।
सहरी विकास मन्त्रालयमा भएको भेटमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर ह्याम्डी, संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रमको एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेचेन छिरिङ, जलवायु परिवर्तन कार्यक्रम संयोजक अबान मार्कर सहभागी थिए।
उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनले नेपालमा पारेको असर, सहरी क्षेत्रले भोगिरहेको चुनौतीहरुका बारेमा चर्चा गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्न चाहेको बताएको मन्त्रालयले जनाएको छ। सो क्रममा संयुक्त राष्ट्रसङ्घीय भेटका क्रममा सहरी वातावरण अनुकूलन कार्यक्रम र राष्ट्रिय रुपरेखाको विषयमा छलफल भएको थियो।
भेटमा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिले आगामी दिनमा जलवायु परिवर्तनले सहरी क्षेत्रमा पार्ने असर कम गर्नका लागि हुने कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका तर्फबाट सहरी विकास मन्त्रालयसँग आवश्यक सहकार्यमा सकारात्मक रहेको बताएका थिए।