नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा लाग्न पत्रकारहरूलाई आग्रह गरेका छन्।
प्रचण्डले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि भएका आन्दोलनमा प्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै संवैधानिक र कानूनी प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्न प्रेस जगत लाग्नुपर्नेमा जोड दिए। उनले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान गर्दै समृद्ध समाज निर्माणमा लाग्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन्।