२२ बैशाख २०८२ , सोमबार

भन्सार विधेयक बहुमतले पारित

News
१७ बैशाख, काठमाण्डौँ ।

प्रतिनिधिसभाको हिजाेको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ लाई बहुमतले पारित गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले विभिन्न धारणा राखेका थिए। सांसद प्रभु साहले विधेयकका केही व्यवस्थाले सीमा क्षेत्रका जनतालाई समस्या पार्न सक्ने बताए। अवैध चोरी पैठारी रोक्ने नाममा निजी सम्पत्ति जफत गर्ने व्यवस्थाप्रति उनले आपत्ति जनाए। सांसद हेमराज राईले खुला सीमानाका कारण भन्सार प्रशासनको प्रभावकारिता कमजोर भएको भन्दै पर्याप्त जाँच उपकरण र सुरक्षा गस्ती बढाउनुपर्नेमा जोड दिए।

सांसद गङ्गा कार्कीले विधेयकले व्यापार व्यवसायका समस्या समाधान गर्ने र आयात–निर्यात सहज बनाउने विश्वास व्यक्त गरिन्। सांसद शिव नेपालीले भन्सार प्रशासनमा प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरे भने सांसद गणेश पराजुलीले भन्सारका समस्या समाधान गर्न नयाँ कानुन आवश्यक रहेको र नेपाल विकासशील देशमा स्तरोन्नति हुँदा आउने चुनौती सामना गर्न विधेयक सहयोगी हुने बताए। छलफलमा सांसद प्रेम सुवाल, माधव सापकोटा, रणेन्द्र बराली, किरण कुमार साह लगायतले पनि आफ्ना विचार राखेका थिए।

सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयक अर्थ समितिमा पर्याप्त छलफल भई परिष्कृत रूपमा आएको बताए। उनले भन्सार बिन्दुमा बेथिति नहोस् र व्यवसायीहरू अनावश्यक पीडित नहुन् भन्ने सुझावहरू सकारात्मक रहेको बताए। यो विधेयक पारित हुँदा भन्सार व्यवस्थापनमा गुणात्मक सुधार आउने र भन्सार प्रशासनमा सुशासन र पारदर्शिता प्रवर्द्धन हुने उनको विश्वास छ।

सरकारले भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल बनाउन यो विधेयक आवश्यक भएकोले सदनमा पेस गरेको हो।