ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी सहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा. अधिकारीले घुस लिएको आयोगको आरोप छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले रु. एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६५ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा. अधिकारीले रु. १९ लाख रकम लिएको पाइएको छ।
आयोगले तत्कालीन अध्यक्ष डा. अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग रु. ५० लाख घुस माग गरेको पाइएको छ। आयोगले डा. अधिकारीविरुद्ध रु. ५० लाख बराबरको बिगो माग दाबी गरेको छ।
आयोगले डा. अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ। काठमाडौँ महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै रु. पाँच लाख घुस लिएको पाइएको छ। आयोगले डा. अधिकारी, रमेश आचार्यविरुद्ध पाँच लाख बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो।
इञ्जिनियर कोइरीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा
आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फाुगन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो।
आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।