१३ असार २०८३ , शनिबार

‘विकासमा केन्द्रित छौं, कांग्रेसभित्र एकता अपरिहार्य’ – प्रवक्ता महत

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विकास-निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन्।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढंगले अघि बढ्ने बताए।

लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै महतले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। बजेट छर्ने प्रवृत्तितर्फ लक्षित गर्दै उनले सो कुरा बताएका हुन्।

प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औंल्याए। कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताए।

एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको उनले स्पष्ट पारे।

निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए।