पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करूणा, अहिंसा र शान्तिमात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छन्। शान्तिका अग्रदूत गौतमबुद्धको पच्चीस सय ६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभएको बताइन्।
सामाजिक सञ्जाल ट्विटर (एक्स) पेजमा पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छन्, “आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ।”
त्यसैगरी उनले किरात समुदायको उभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पु¥याउने बताइन्।
सामाजिक सञ्जाल ट्विटर (एक्स) पेजमा लेख्दै पूर्वराष्ट्रपति भण्डारीले किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा झल्काउने उभौली पर्वले हामीलाई प्रकृतिसँगको सहअस्तित्व, ऋतुसँगको तालमेल र समाजसँगको समन्वयको अमूल्य सन्देश प्रवाह गरेको बताइन्। उनले लेखेकी छन्, “नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको विविधतायुक्त मुलुकमा साझा पहिचान र सहअस्तित्वको संस्कृति अझ बलियो बनोस्, उभौली पर्वले सबैमा नवउर्जा, आपसी प्रेम र राष्ट्रिय गौरवको भावना थप प्रगाढ बनाओस् भन्ने कामना गर्दछु।”