९ कार्तिक २०८२ , आईतवार

नागरिकता विधेयक राष्ट्रियसभामा टेबुल, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको जानकारी

News
१७ असार, काठमाण्डौँ ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ। राष्ट्रियसभाको आजको बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गरेका हुन्।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाएका थिए।

यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जानुभएकाले प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेगरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराए।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको कार्यक्रममा सहभागी हुन यही असार १० गते त्यसतर्फ जानुभएकाले उहाँको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले बताए। कार्यभार तोकिएका अन्य पत्रसमेत उनले सभामा पढेर सुनाएका थिए।