भोजपुरको प्रतिष्ठित आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड ललितपुर फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा चर्च ब्वाइजले भगवती स्पोर्ट्स क्लब खोटाङलाई १–० गोलले पराजित गर्यो।
प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजका खेलाडी समिर तामाङले गरेको एक मात्र गोल निर्णायक बन्यो। भगवतीका खेलाडीले गोल गर्न सकेनन्। सेमिफाइनलको म्यान अफ दी म्याच बनेका चर्च ब्वाइजका गोलकर्ता समिरले नगद रु पाँच हजार प्राप्त गरे।
उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिए।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष हुने प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन्। अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ। करिब रु ४९ लाख लागतमा भोजपुर नगरपालिका–७ मा निर्माण भएको रङ्गशालामा वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन्।
गत वर्ष चर्च ब्वाइज युनाइटेड काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो।