विश्व स्वास्थ्य संगठन (WHO) ले द्वन्द्व, विस्थापन र जलवायु परिवर्तनका कारण कमजोर क्षेत्रहरूमा हैजाको प्रकोप बढ्दै गएको र पछिल्लो तीन महिनामा मात्र हैजाका कारण १५ सयभन्दा बढी मानिसको ज्यान गएको जनाएको छ।
WHO ले मंगलबार जारी गरेको बहु-देशीय रिपोर्ट अनुसार सन् २०२४ को जनवरी १ देखि मार्च ३० सम्ममा २५ देशहरूमा १ लाख १६ हजार ५७४ हैजाका घटनाहरू र १ हजार ५१४ जनाको मृत्यु भएको छ। अफ्रिकामा संक्रमण र मृत्युको संख्या उच्च छ। त्यसपछि पूर्वी भूमध्यसागर र दक्षिण-पूर्वी एसिया क्षेत्रमा हैजाको प्रकोप देखिएको छ।
मार्च महिनामा मात्र हैजासँग सम्बन्धित जटिलताका कारण ५१७ जनाको मृत्यु भएको छ र २२ देशहरूमा ३२ हजार ९८५ नयाँ केसहरू रिपोर्ट गरिएका छन्।
विश्वव्यापी रूपमा ओरल हैजा खोप (OCV) को स्टक ५२ लाख डोजमा स्थिर भएपनि बढ्दो मागका कारण आपूर्ति कम भएको WHO ले चेतावनी दिएको छ।
संयुक्त राष्ट्र संघका अनुसार द्वन्द्व, सामूहिक विस्थापन, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले हैजाको प्रकोपलाई तीव्र बनाएको छ, विशेष गरी ग्रामीण र बाढी प्रभावित क्षेत्रहरूमा जहाँ सफा पानी र स्वास्थ्य सेवाको पहुँच सीमित छ।
हैजा रोकथाम र उपचार गर्न सकिने रोग हो, तर समयमै उपचार नपाएमा केही घण्टाभित्रै मानिसको मृत्यु हुन सक्छ। WHO ले पानी, सरसफाई, स्वास्थ्य सेवा पूर्वाधार र खोप उत्पादनमा सुधार गर्न तत्काल विश्वव्यापी सहयोगको लागि आह्वान गरेको छ।