१ जेष्ठ २०८२ , बिहीबार

चितवन कारागारका १४० कैदीबन्दी अन्यत्र स्थानान्तरण, क्षमताभन्दा बढी कैदी हुँदा समस्या

News
१ जेष्ठ, काठमाण्डौँ ।

चितवन जिल्ला कारागारमा कैदीबन्दीको चाप बढेपछि १४० जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। चालु आर्थिक वर्षको साउनदेखि यता विभिन्न समयमा उनीहरूलाई देशका विभिन्न कारागारमा सारिएको हो।

जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५ गते पाँच जनालाई मोरङ कारागारमा स्थानान्तरण गरिएको थियो। यसअघि भीमफेदी कारागार मकवानपुरमा एकजना, काठमाडौँको जगन्नाथ देवलमा सात जना, खम्बाक्याम्प नुवाकोटमा ८७ जना, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २९ जना, तनहुँ कारागारमा एकजना, रसुवा कारागारमा आठ जना र डिल्लीबजार कारागारमा दुई जनालाई सारिएको थियो।

हाल चितवन कारागारमा ७२० जना कैदीबन्दी छन्। ४७० पुरुष कैदीबन्दी क्षमता रहेको कारागारमा ६७५ जना र ३५ जना महिला कैदीबन्दी क्षमता रहेकामा ४२ जना छन्। उनीहरूसँग आश्रित तीन जना बालबालिका रहेको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो। क्षमताभन्दा बढी कैदी हुँदा २० जनालाई भवनमा बनाएको पालिमुनि राख्नु परेको छ।