२९ जेष्ठ २०८२ , बिहीबार

चितवनको अयोध्यामार्ग: महिलाको सक्रियताले नमूना गाउँ बन्दै

News
२७ जेष्ठ, काठमाण्डौँ ।

चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यकाभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू। माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित हुन्छ। यहाँका महिलाहरूले सृजनात्मकता र संस्कार झल्किने गाउँको परिवेश निर्माण गरिरहेका छन्।

पक्की सडकको दायाँबाँया रहेका मौलिक प्रकारका घर, सबै घरको आँगनमा फूलबारी र सडकको दायाँबायाँ राखिएका ढुङ्गामा लगाइएका रङले यहाँको सौन्दर्य बढाएको छ। यसका पछाडि स्थानीय समुदाय, विशेषतः महिलाहरूको अगुवाइमा भएको कामले अयोध्यामार्ग माडीको एक नमूना बस्तीका रूपमा परिचित बन्दै गइरहेको छ।

अयोध्यामार्गस्थित फूलबारी महिला समूहकी अध्यक्ष सुजिता पाण्डे गाउँमा दैनिक आउने पर्यटक र उनीहरूले गर्ने गरेको प्रशंसाले दङ्ग छिन्। उनले भनिन्, “गाउँकै स्वप्नम आलेमगर दिदीले घरमा ढकमक्क फूल रोपेको देखेर लाग्यो, हामीले पनि किन नरोप्ने? उहाँबाटै प्रेरित भएर घरघरमा गमला राख्न थाल्यौँ। सडक किनारामा ढुङ्गा राख्ने, त्यसमा रङ लगाउने अनि गाग्री ल्याएर सजाउने क्रम अघि बढ्यो। अहिले २५ घरमा यस्तै आकर्षक सजावट र ढकमक्क फूल देख्न सकिन्छ। अहिले गाउँ नै फूलबारीजस्तै देखिन थालेको छ।”

गाउँलाई आकर्षक बनाउन सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक सूचना बोर्डमा उल्लेख गर्ने अभ्यासले पारदर्शिता र आपसी विश्वास निर्माण गरेको उनले बताइन्। “पर्यटकको आवागमन देखेर गाउँलाई होमस्टेसमेत सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भनिन्, “माडीको धार्मिक सांस्कृतिक र मौलिक ग्रामीण जीवनशैलीको अनुभव गराउने योजना छ।”

यहाँ रङ्गिएका ढुङ्गा र गमलामात्र होइन, हरेक घरको अगाडि राखिएको फूलसहितको कलशले यहाँको सांस्कृतिक चेतना पनि झल्काउँछ। सँगसँगै उनीहरूले गाग्री नराख्ने घरलाई सचेत गराउने र सरसफाइमा लापरवाही गर्नेलाई कारबाही गर्ने अभ्यासले गाउँमा अनुशासन पनि कायम राखेका छन्।

अहिले यहाँ टाढाटाढाबाट पर्यटक यहाँको परिवेश हेर्न र फोटो खिच्न आउने गरेका छन्। यहाँ भएको परिवर्तन केवल बाह्य सौन्दर्य नभई समुदायको सामूहिक भावना र सामाजिक पुनर्जागरणको प्रतिबिम्ब पनि बनेको छ।

यहाँका सडकका दायाँबायाँ नेपाली राष्ट्रिय झन्डा र सडक किनाराका ढुङ्गामा चेतनामूलक सन्देश कुँदिएका छन्। बाँसको डोकाबाट फोहर सङ्कलन गर्ने प्रविधि, प्लास्टिकजन्य वस्तुको छुट्टाछुट्टै व्यवस्थापनजस्ता अभ्यासले यहाँका बासिन्दामा वातावरणीय जागरूकता बलियो बनाएको माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद अधिकारी बताउँछन्।

वैदिक सनातन सांस्कृतिक सम्पदा सङ्घ माडीका सल्लाहकार रेशम सापकोटाले अयोध्यामार्गका दृश्यहरू केवल बाहिरी सौन्दर्यमात्र नभई यहाँका महिलाहरूको सौन्दर्यप्रेम, मेहनत र सामुदायिक चेतनाको सङ्केत पनि भएको बताए। अयोध्यामार्ग माडीको नयाँ पर्यटकीय गन्तव्य बन्ने भन्दै उनले ग्रामीण सौन्दर्यको अलौकिक सङ्गम बनिरहेको धारणा राखे।