३ कार्तिक २०८२ , सोमबार

चिन्डेडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, हाइकिङ गन्तव्यको रूपमा विकास

News
२७ असार, काठमाण्डौँ ।

धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ। धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न उपयुक्त मानिने यो ठाउँमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्। धरान, इटहरी, झापा, चितवन, काठमाडौँजस्ता ठाउँबाट आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन्।

धरान उपमहानगरपालिका–१६ का सुदीप श्रेष्ठ बेलायतबाट बिदामा घर आएपछि चिन्डेडाँडा पुग्नुभयो। पहिले नाङ्गो देखिने यो डाँडा अहिले निकै विकास भएको रहेछ, घुम्नका लागि उपयुक्त गन्तव्य बनेको देख्दा आफूलाई खुसी लागेको उनले बताए। इटहरीकी सुशीला राई पनि पहिलोपटक चिन्डेडाँडा पुग्नुभएको थियो। "गर्मीका बेला यहाँको रमाइलो वातावरण र दृश्यावलोकनको आनन्द वर्णन गरेर सकिन्न", उनी भन्छिन्।

पूर्वी पहाडी क्षेत्र र तराईको सङ्गमस्थलजस्तो देखिने चिन्डेडाँडा धरान बजारबाट मोटरसाइकल तथा गाडीमा करिब १५ देखि २० मिनेट र पैदल हिँडेर करिब एक घण्टामा पुग्न सकिन्छ। पहिला उजाड र सुनसान देखिने यस ठाउँमा पर्यटकको चहलपहल देखिन थालेको करिब दुई दशक भएको स्थानीयको भनाइ छ। हाल प्याराग्लाइडिङ बन्द भए पनि त्यही स्थानमा दर्जनौँ होटल तथा खाजाघर खुलेका छन्।

स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा चिन्डेडाँडामा दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यहाँ आउने पर्यटकले लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार निकै मन पराउने गरेको उहाँले बताउनुभयो। धरानबाट चिन्डेडाँडा पुग्न हाल कच्ची सडक रहेको र वर्षायाम वा जाडो मौसममा आवतजावत केही असहज हुने गरेको व्यवसायीको गुनासो छ।

चिन्डेडाँडाभन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा भ्यूटावर पनि निर्माण भएको छ। त्यहाँबाट अलि तल पर्यटन व्यवसायी वासुदेव बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गर्नुभएको छ। धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गर्ने तयारी भइरहेको छ।