चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै फोनमा कुराकानी नभएको स्पष्ट पारेको छ। दुई देशबीचको व्यापार युद्ध समाधानका लागि कुनै वार्ता नभएको पनि चीनले पुनः दोहोर्याएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पले टाइम पत्रिकालाई दिएको अन्तर्वार्तामा सी जिनपिङले आफूलाई फोन गरेको भन्ने दाबीलाई ठाडै अस्वीकार गरेका छन्। प्रवक्ताले भने, "जहाँसम्म मलाई थाहा छ, दुई राष्ट्र प्रमुखबीच हालै कुनै फोन कुराकानी भएको छैन। म फेरि दोहोर्याउन चाहन्छु कि चीन र संयुक्त राज्य अमेरिका शुल्क मुद्दामा परामर्श वा वार्तामा संलग्न छैनन्।"
ट्रम्पले गत हप्ता चीनमाथि लगाइएका अमेरिकी शुल्कहरू "पर्याप्त रूपमा कम हुने" र वार्तामा "धेरै राम्रो" हुने बताएका थिए। तर चीनले भने व्यापार युद्धमा आफ्नो अडान कायम राखेको छ। ट्रम्पले सीलाई वार्ता सुरु गर्न आग्रह गरिरहेका छन्।
सार्वजनिक अभिलेख अनुसार दुई नेताबीच अन्तिम पटक फोनमा जनवरी १७ मा कुराकानी भएको थियो। ट्रम्पको दोस्रो कार्यकालको शपथ ग्रहण हुनुभन्दा केही दिन अघि यो कुराकानी भएको थियो।
ट्रम्पले बारम्बार चिनियाँ अधिकारीहरूसँग व्यापार सम्झौताका लागि वार्ता भइरहेको दाबी गरे पनि बेइजिङले त्यसलाई अस्वीकार गर्दै आएको छ। चीनले अमेरिकालाई चीनमाथि लगाएका सबै शुल्क हटाउन माग गरेको छ।